सुत्केरी महिला मृत्यु प्रकरण – अस्पताल भन्छ: छानविन समिति बनाउँछौँ
मकवानपुर । गएराति उपचारको क्रममा सुत्केरी महिलाको मृत्यु भएको विषयमा छानविन गर्न हेटौंडा अस्पतालले छानविन समिति बनाउने भएको छ । तु खबरसँग कुराकानी गर्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले सुत्केरी महिलाको मृत्यु के कारणले भयो भन्ने विषयमा छानविन गर्न समिति बनाउन लागिएको बताए ।
उनले सुत्केरीको महिलाको मृत्यु हुनुमा चिकित्सककै लापरवाही हो वा होइन भन्ने विषयमा छानविन समितिले अध्ययन गरेपछि मात्रै थाहा हुने बताए । ‘चिकित्सकले विरामीलाई अन्तिमसम्म बचाउने प्रयास गरेको हुन्छ । विरामीलाई मार्ने उद्धेश्य अस्पतालको कहित्यै हुँदैन । भोलिसम्म मृतकको श्रीमान पनि आउने जानकारी पाएका छौँ । हामी छानविन समिति पनि बनाउँछौँ । समितिले चिकित्सककै लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको हो वा होइन भन्ने बारे गहन अध्ययन गर्छ । त्यसपछि मात्रै भन्न सकिन्छ ।’ उनले भने ।
उनले पीडीत पक्षसँग पनि एक चरणको वार्ता भइसकेको बताए । तर, अस्पताल परिसरमा अहिले मृतकका आफन्तले चिकित्सकको लापरवाहीका कारण सुत्केरी महिलाको मृत्यु भएको भन्दै नाराबाजी गरिरहेका छन् । उनीहरुले चिकित्सकमाथि कारवाहीको मागसमेत गरेका छन् ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर २२ स्थायी घर भइ हाल हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ मा डेरा गरी बस्ने ३१ बर्षीया सीतामाया मोक्तानको गएराति मृत्यु भएको थियो । मोक्तानलाई सुत्केरी गराउनका लागि बैशाख ८ गते हेटौंडा अस्पतालमा ल्याइएको र ९ गते शल्यक्रिया गरी १० गते (आइसियू) मा राखिएको थियो । उनको गएराति मृत्यु भएको हो । नावजात शिशुको अवस्था सामान्य रहेको बताइएको छ ।
