यस्तो छ मन्त्रिपरिषद बैठकको सात निर्णय
काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । चैत्र ३० गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
बैठकले राष्ट्रिय आवास कम्पनीका अध्यक्ष रामआधार कापरको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ भने अमेरिकी अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (युएसआइडी) बाट प्राप्त हुने करिब ७९ अर्ब ७१ करोड अनुदान सहायता रकम स्वीकार गर्ने, फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजनाको लागि कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाको करिब २८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृती दिने निर्णय गरेको छ ।
यस्तै, बैठकले सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री पुष्पराम के.सी. लाई बढुवा नियुक्त गर्ने, मायादेवी गाउँपालिकालाई आधारभूत अस्पताल, गाउँपालिकाको प्रशासकीय भवनलगायतका कार्यका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकती दिने र कर्जन्हा नगरपालिका सिरहालाई प्रशासकीय भवन निर्माण गरी प्रयोग गर्नका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृती दिने निर्णय गरेको छ ।
