वेतखोल्सी सामुदायिक वनको २१ औं साधारणसभा सम्पन्न
मकवानपुर । वेतखोल्सी सामुदायिक वन उपभोक्ता समूह हेटौंडा–९ को २१ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभा समूहका अध्यक्ष बासुदेव प्याकुरेलको सभाध्यक्षता तथा जिल्ला समन्वय समितिका अध्यक्ष रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा समूहको वार्षिक गतिविधिको जानकारी गराउँदै अध्यक्ष प्याकुरेलले समूहमा २ सय ६५ घरधुरी सदस्य रहेको जानकारी दिए । उनका अनुसार, एक हजार ७ सय उपभोक्ता प्रत्यक्ष वनसँग जोडिएका छन् । सामुदायिक वन ३५ दशमलब ९७ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
कार्यक्रममा जेष्ठ नागरिक दिलानाथ नेपाल र पुष्पाञ्जली आमा गस्ति समूहलाई सम्मान गरिएको थियो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठक, हेटौंडा– ९ का वडा अध्यक्ष लक्ष्मण भण्डारीलगायतको उपस्थिति रहेको थियो ।
