बागमती प्रदेश: भोलिबाट टाइफाइटविरुद्धको खोप दिइने

तु खबर संवाददाता
२०७८ चैत्र २४, बिहीबार १५:३१

मकवानपुर । नेपालमा पहिलो पटक टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । १५ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकाहरुलाई टाइफाइड रोगविरुद्धको खोप प्रदान गर्न लागिएको हो । राष्ट्रिय खोप अभियानअन्तर्गत बागमती प्रदेशमा पनि भोलि शुक्रबारदेखि खोप लगाउन सुरु गरिने भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेश हेटौंडाले आज पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ ।

निर्देशनालयले टाइफाइडविरुद्धको खोप अभियान आगामी वैशाख १८ गतेसम्म सञ्चालन गरिने उल्लेख गरेको छ । निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले त्यस अवधिमा प्रदेशभरका १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकालाई खोप प्रदान गर्ने लक्ष्य निर्धारण गरिएको बताए ।

खोप अभियान सञ्चालनको लागि प्रदेशभर ६ हजार पाँच सय २० वटा केन्द्र निर्धारण गरिएकोमा ८० प्रतिशत भन्दा बढी केन्द्र विद्यालयमा राखिएको निर्देशक श्रेष्ठले जानकारी दिए । खोप लगाउनको लागि ८ हजार ८ सय ५८ जना खोप कार्यकर्ता खटिनेछन् भने १७ हजार ९ सय ६३ जना स्वयंसेवक परिचालन हुनेछन् । खोप अभियान सकिएपछि पनि सरकारले टाइफाइड खोपलाई नियमित खोपको रुपमा समेट्ने जनाइएको छ । हरेक बच्चा जन्मिएको १५ महिना उमेर पुगेपछि लगाउने गरी टाइफाइड खोप नियमित गर्न लागिएको जनाइएको छ ।

खोपको रोग प्रतिरोधात्मक क्षमता ९६ दशमलव ९५ प्रतिशत रहेको जनाइएको छ । ५ वर्षभन्दा मुनिका बालबालिकामा टाइफाइडको संक्रमणदर बढी देखिएको पाइएकाले सरकारले १५ वर्षमुनिका बालबालिकालाई खोप अभियानमा समेटेको निर्देशक श्रेष्ठले जानकारी दिए ।