जनतालाई सेवा दिने काममा ढिलासुस्ती नगर्न मन्त्री श्रेष्ठको निर्देशन
काठमाडौँ । उधोग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजनामा चालु आर्थिक बर्ष २०७८/०८० को दोस्रो चौमासिक प्रगति समिक्षा तथा आगामी आर्थिक वर्ष २०७९/०७० को वार्षिक योजना तर्जूमा गोष्ठी सम्पन्न भएको छ । बुधबार र विहिबार २ दिनसम्म संचालित गोष्ठीमा चालु आवको दोस्रो चौमासिक प्रगतिबारे सरोकारवालाहरुबीच छलफल भएको थियो । निर्देशनालयले दोस्रो चौमासिकमा नै वार्षिक लक्ष्यको ८५ प्रतिशत प्रगति सम्पन्न गरिसकेको तथ्य सार्वजनिक गरेको थियो ।
गोष्ठीमा बागमती प्रदेश उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले बाँकी रहेको काम असार मसान्त भित्रै सम्पन्न गरिसक्न निर्देशन दिएका छन् । उनले सेवाग्राहीलाई सेवा प्रवाह गर्ने सम्दर्भमा ढिलासुस्ती नगर्न, सेवाग्राहीसँग सम्मानजनक व्यवहार गर्न कर्मचारीहरुलाई निर्देशनसमेत दिएका छन् । उद्योग वाणिज्यको क्षेत्रमा देखा परेका समस्या समाधानका लागि पनि योजना बनाएर आफु अघि बढ्ने मन्त्री श्रेष्ठले प्रतिवद्धता जनाए ।
निर्देशनालयका निर्देशक कृष्ण दाहालको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी जोन्छे, सचिव बिश्वबाबु पुडासैनी र प्रदेशका १३ वटै जिल्लाका घरेलु तथा साना उधोग कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको थियो ।
