मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाबाट सर्दैन : मन्त्री लामा

तु खबर संवाददाता
२०७८ चैत्र २४, बिहीबार ०९:००

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाबाट सार्न खोजिएको भन्दै फैलाएको हल्ला गलत भएको बताएका छन् । मन्त्री लामाले मकवानपुरका राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरुसंग मन्त्रालयमा छलफल गर्दै उक्त प्रतिष्ठान कुनै पनि अवस्थामा हेटौंडाबाट नसर्ने बताएका हुन् ।

हेटौँडा अस्पतालबाट अलग गरेर प्रतिष्ठानलाई छुट्टै स्वायत्त संस्थाको रूपमा आफ्नै अस्पताल सहितको भौतिक संरचना निर्माण गरी संचालनमा ल्याउने योजना रहेको उनले बताए । हेटौंडा अस्पतालको अहिलेकै संरचना र अवस्थामा मास्टर्स तहको अध्ययन गराउन सकिने अवस्था नभएकाले नजिकैको अस्पताल भरतपुरलाई अध्ययनका लागि मात्रै लिईएको बताउँदै उनले स्नातक तहका ३ विषयको कक्षाहरु हेटौंडामा नै संचालन भईरहेको स्पष्ट पारे ।

प्रतिष्ठान बागमती प्रदेशको गौरब भएकाले यसलाई व्यवस्थित गर्न प्रदेश सरकारबाट २० करोड र संघीय सरकारबाट संरचनाका लागि ९५ करोड रुपैंया बजेट उपलव्ध भएकोले हेटौंडामा पूर्वाधार विकास गर्न लागिएको उनले बताए । उनले अघिल्लो सरकारले जग्गा समेत प्राप्ति नगर्दा काम अघि बढाउन समस्या भएकाले यसको यथाशिघ्र समाधान गरिने बताए ।

हेटौंडा अस्पताललाई बागमती प्रदेशकै नमूना अस्पताल बनाउन प्रदेश सरकारले विगतमा पनि बजेट उपलव्ध गराएको र अहिले पनि उपकरण र जनशक्ति थप गर्नेतर्फ काम भईरहेकोले अस्पतालको सेवा झन प्रभावकारी बनाईने उनको भनाई छ । उनले अफवाह र भ्रममा नपर्न र प्रतिष्ठान र अस्पताललाई थप प्रभावकारी र व्यवस्थित गर्न राजनैतिक दलहरुको समेत बुझाव आवश्यक रहेकाले उपलव्ध गराउन आग्रह गरे ।

प्रतिष्ठानको ऐनले पुरानो सामाजिक विकास मन्त्रालयको परिकल्पना गरेको लगायतका विषयमा सुधार गर्नुपर्ने भएकाले पनि अध्यादेश आवश्यक भएको बताए । सरोकारवालाहरुको माग अनुसार हेटौंडा अस्पताललाई थप सशक्त बनाउन प्रतिष्ठानबाट अलग गरिएको उनको भनाई छ । प्रतिष्ठान अहिलेकै अवस्थामा भने चल्न नसक्ने भएकाले यसलाई प्रभावकारी ढंगबाट अघि बढाउन प्रतिष्ठानसम्बन्धी अध्यादेश ल्याएको बताउदै मन्त्री लामाले प्रतिष्ठान स्थापनाकालदेखि ३ बर्षसम्ममा देखिएका समस्यालाई पनि अहिले समाधानको काम भईरहेको बताए ।

छलफलमा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, सचिव नवीन सिग्देल, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, सचिव भीमसेन महत, प्रदेश सदस्य चम्फुरत्न लामा, माओवादी केन्द्र मकवानपुरका सचिव भिम पाख्रिन, राप्रपा नेपाल मकवानपुरका गुरूप्रसाद सापकोटा, मन्त्रालयका सचिव बद्रीबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।