कंगोमा विद्रोहीको हमलामा नेपाली शान्ति सैनिकको मृत्यु
काठमाडौं । कंगो शान्ति मिसनमा घाइते नेपाली शान्ति सैनिकको मृत्यु भएको छ । नेपाली सेनाका अनुसार अपरेसन ’बाली’ को दौरान गत चैत्र २२ गते विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको गोली प्रहारबाट घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते भएका सुर्खेत जिल्ला, गुर्माकोट–१४ निवासी सिपाही अनिल गुरुङलाई हेलिकप्टरमार्फत थप उपचारको लागि बुनियाँस्थित लेबल–२ अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको सेनाले जानकारी दिएको हो ।
नेपाली शान्ति सैनिकको आफ्नो कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण भएकोमा प्रधान सेनापति प्रभुराम शर्माले समस्त नेपाली सेना परिवारको तर्फबाट गुरुङको बलिदानीपूर्ण योगदान प्रति उच्च सम्मान प्रकट गरेका छन् । यस घटनाबाट सिंगो नेपाली सेनालाई नै स्तब्ध बनेको सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
