फेरि बढ्यो पेट्रोल, डिजेलको भाउ, कति पुग्यो ?

तु खबर संवाददाता
२०७८ चैत्र २३, बुधबार ०८:३९
file-photo

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । निगम संचालक समितिको मंगलबार बसेको बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाउ बढाएको हो ।

निगमले पेट्रोलको भाउ प्रतिलिटर ५ रुपैयाँ बढाएर १६० रुपैयाँ, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १४३ रुपैयाँ कायम गरेको छ । यस्तै, निगमले हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाएको छ भने अन्तर्राष्ट्रियतर्फको भाउ प्रतिकिलोलिटर ५० अमेरिकी डलर बढाएको छ ।

भाउबढेसँगै हवाई इन्धन आन्तरिककोे मूल्य प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर १ हजार ५४५ अमेरिकी डलर पुगेको छ । निगमले खाना पकाउने (एलपी) ग्यासको मूल्यसमेत बढाएको छ । भाउ बढेसँगै एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ६०० रुपैयाँ पुगेको छ ।