टाइफाइडविरुद्धको खोप अभियान सफल बनाउन प्रमुख खुलालको आग्रह
मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले नेपाल सरकारले बालबालिकाका लागि पहिलो पटक संचालन गर्न लागेको टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियान सफल बनाउन आग्रह गरेका छन् ।
जिल्ला खोप समन्वय समिति मकवानपुरको मंगलबार बसेको बैठकमा प्रमुख खुलालले सरकारले देशभरका १५ महिनादेखि १५ वर्ष उमेर समूहका ७५ लाख बालबालिकालाई लक्षित गरेर सुरु गर्न लागेको खोप अभियान सफल बनाउन सबै क्षेत्रका सरोकारवालालाई आग्रह गरेका हुन् ।
प्रमुख खुलालले सबै सरोकारवालालाई आ–आफ्नो क्षेत्रबाट सहयोग गरेर खोप अभियान सफल बनाउन आव्हान गरे । बैठकमा खोप अभियान सफल बनाउन जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले तयार पारेको कार्ययोजना बारे जानकारी गराईएको थियो । खोप अभियान शुभारम्भ तथा नियमित खोप कार्यक्रम सफल बनाउन स्वास्थ्य कार्यालयले तयार पारेको कार्य योजना मंगलबारको बैठकले अनुमोदन समेत गरेको प्रमुख खुलालले बताए ।
बैठकमा स्वास्थ्य कार्यालयका निमित्त प्रमुख भीमसागर गुरागाईले सरकारले देशभरका १५ महिनादेखि १५ वर्ष उमेर समूहलाई ७५ लाख बालबालिकालाई लक्षित गरेर सुरु गर्न लागेको खोप अभियानको संघीय सरकारका स्वास्थ्य मन्त्री बिरोध खतिवडाले मकवानपुरको मनहरी गाउँपालिकास्थित भोजसिद्ध माविबाट सुरु गर्नु हुने जानकारी दिए । अभियानलाई सफल बनाउन अभिमुखीकरण, खोप केन्द्र, प्रचार प्रसार, खोपको उपलब्धतालगायत विषयमा काम भईरहेको उनले बताए ।

चैत्र २५ गतेबाट सुरु भएर बैशाख १८ गतेसम्म संचालन हुने अभियानमा मकवानपुरका एक लाख ८ हजार ४८६ जना बालबालिका लाभान्वित हुने उनको भनाई छ । गुरागाँईका अनुसार जिल्लामा कुल ६०८ वटा खोप केन्द्रबाट खोप अभियान संचालन हुनेछ । साथै अभियानमा ८७० जना खोपकर्ता र एक हजार ३९० जना स्यमसेवक परिचालित हुनेछन् ।
जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ५० हजार १६३, थाहा नगरपालिकाका ८ हजार ६१६, बागमती गाउँपालिकाका ६ हजार ६२८, बकैयाका ८ हजार ९४८, मनहरीका १० हजार ३७२, राक्सिराङका ५ हजार ६९२, कैलाशका ४ हजार ८३८, भीमफेदीका ४ हजार ७५८, मकवानपुरगढीका ५ हजार ३३५ र ईन्द्रसरोवरका ३ हजार २७ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको उनले बताए । साथै उनले लक्षित समूहको ८० प्रतिशत बालबालिकालाई विद्यालयमै खोप लगाइने समेत जानकारी दिए ।
बैठकमा जिसस मकवानपुरकी उप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमलगायत सरोकारवालाको उपस्थिती थियो ।
