बागमती प्रदेश सरकारद्वारा ३ अध्यादेश स्वीकृतीको लागि सिफारिस

तु खबर संवाददाता
२०७८ चैत्र २२, मंगलवार १९:०२

मकवानपुर । बागमती प्रदेश सरकारले ३ वटा अध्यादेश स्वीकृतीका लागि ल्याएको छ भने एउटा अध्यादेश प्रमाणिकरण गरेको छ । सरकारले स्थानीय तहका कर्माचारी व्यवस्थापन तथा कार्यलय संचालन सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश, प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाका सर्तहरु सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेश स्वीकृतीको लागि ल्याएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए ।

मन्त्री खनालका अनुसार, सरकारले प्रदेश युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश प्रमाणिकरण गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले स्वीकृत गरी ल्याएको ३ वटा अध्यादेशहरु प्रदेश प्रमुख यादवचन्द्र शर्मामार्फत् स्वीकृती भएपछि लागू हुनेछ ।

संसदमा भएको अवरोधका कारण सरकारलाई तत्काल काम गर्न बाधा आएकाले अध्यदेशमार्फत् काम चलाउनु परेको मन्त्री खनालले बताए । उनका अनुसार, सरकारले प्रदेशमा अपुग रहेका कर्मचारीहरुको परिपूर्तिका लागि अध्यादेशमार्फत् प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाका काम गर्ने तयारी गरेको छ ।

तसर्थ स्थानीय तहमा भएको कर्मचारीहरुको व्यवस्थापन, कार्य दक्षता, कार्य कुशलताका लागि स्थानीय तहका कर्माचारी व्यवस्थापन तथा कार्यलय संचालन सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश ल्याइएको उनले बताए । सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वायत् संस्थाको रुपमा स्थापना गर्नका लागि आफ्नै अस्पतालको व्यवस्था गर्ने उद्देश्य अनुसार अध्यादेश ल्याइएको मन्त्री खनालले बताए ।

उक्त अध्यादेश जारी भएसँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत राखिएको हेटौंडा अस्पताल अलग हुने उनको भनाई छ । हेटौंडा अस्पतालमा चिकित्सा शिक्षाका अन्य विषयहरु अध्यापन गराउनको लागि प्रयाप्त भौतिक संरचना र जनशक्ति नभएकाले प्रतिष्ठानबाट अलग गरिएको उनले बताए । प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक कार्यक्रमलाई बाधा नपार्नको लागि तत्काल चितवनको भरतपुर अस्पतालमा पठनपाठनको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।