सहकारी अभियान्ता र सहकारीलाई सम्मान

तु खबर संवाददाता
२०७८ चैत्र २०, आईतवार १८:३६

मकवानपुर । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी अभियान्ता र सहकारी संस्थालाई सम्मान गरिएको छ । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नारासहित बागमती प्रदेश मूल समारोह समितिद्वारा आयोजित तीन दिवसीय कार्यक्रमअन्तर्गत आज तेस्रो दिन हेटौंडामा भएको कार्यक्रममा सहकारी अभियान्ता र विभिन्न सहकारीलाई सम्मान गरिएको हो ।

सहकारी दिवसको अवसरमा तीन दशक लामो समय सहकारी क्षेत्रमा रही विभिन्न कार्य गर्दै आएका सहकारी अभियान्ता, सहकारी महासंघ पूर्व संचालक, जिल्ला सहकारी संघका पुर्व अध्यक्ष बद्रीप्रसाद लम्साललाई कदरपत्रसहित सम्मान गरिएको थियो । सोही क्रममा नेपालकै पहिलो सहकारी चितवन र भरतपुर–१९ को बखान बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मान गरिएको थियो ।

सहकारी दिवसको अवसरमा आइतबार बिहान नौमति बाजा र खैँजेडी भजनसहित हेटौंडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । हेटौंडा ४ स्थित भुटनदेवी माविको प्राङगणबाट विभिन्न सहकारीका नारासहित निस्केको र्याली बजार परिक्रमा गरी रोयक पार्टी प्यालेसमा पुगेर कोषसभामा परिणत भएको थियो ।

प्रभातफेरीमा युवा बचत तथा ऋण सहकारी संस्था र साना किसान कृषि सहकारी संस्था हाडीखोलाले नौमती पञ्चेबाजा बजाएको थियो भने हेटौंडा–९ मा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्थाले खैजेडी भजन प्रस्तुत गरेका थिए । सोही अवसरमा यी तीनै सहकारीलाई पुरस्कृत समेत गरिएको थियो ।

प्रभातफेरीमा उत्कृष्ट प्रदर्शन गरिएको भनि हेटौंडा–११ को बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था प्रथम, हेटौंडा १३ को महिला मिलन बचत तथा ऋण सहकारी संस्था द्धितीय र तृतीय भएका हेटौंडा–१३ को महिला सेवा बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कार प्रदान गरिएको थियो । ती सहकारीहरुलाई क्रमशः नगद ५ हजार रुपैयाँ, ३ हजार रुपैयाँ र २ हजार रुपैयाँ प्रदान गरिएको थियो । सहकारी दिवसकै अवसरमा मानव सेवा आश्रमलाई खाद्यान्नका लागि २० हजार रुपैयाँ प्रदान गरिएको छ ।

सहकारी दिवस समारोह समितिका संयोजक नारायण प्रसाद देवकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।