सहकारी आन्दोलन सामाजिक परिवर्तनको एउटा आयाम : प्रदेश प्रमुख शर्मा
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सहकारी आन्दोलन सामाजिक परिवर्तनको एउटा आयाम रहेको बताएका छन् । आज (आइतबार) मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नारासहित ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले पुँजीवादी हैकम र सामन्ती शोषणबाट मुक्तिका खातिर सहकारी आन्दोलन सामाजिक परिवर्तनको एउटा आयाम मान्न सकिने बताएका हुन् ।
प्रदेश प्रमुख शर्माले सहकारीमार्फत नागरिकको आर्थिक अवस्था विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने बताउँदै भने, ‘सबैका लागि एक र एकका लागि सबै’ भन्ने मूल ध्येय लिएका सहकारी कार्यक्रम आर्थिक क्षेत्रमा रहेका असमानतामाथि हस्तक्षेपकारी भूमिका खेल्दै ग्रामीण क्षेत्रका नागरिकहरुको आर्थिक समुन्नतीको सपना साकार पार्न टेवा पुगिरहेको छ । कृषि उत्पादन, भण्डारण, उपभोग र बजारीकरणका लागि सहकारीले नेपालको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याएको छ ।’
शुभकामना सन्देशमा प्रमुख शर्माले सहकारीले समुदायमा छरिएर रहेको पुँजी र बैंकको पहुँच बाहिर रहेका मानिसहरुलाई आबद्घ गराई आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।
केही सहकारी संस्थाहरु वित्तीय अनुशासन तथा यसको सिद्घान्त विपरित संचालन भएको गुनासो बेलाबखत सुनिने गरेकोमा यसतर्फ सम्बन्धित पक्षले ध्यान दिनुपर्ने शर्माको भनाई छ । उनले समुदायमा आधारित, सदस्य केन्द्रित र यसको मूल्य, मान्यता, सिद्धान्त र मर्म अनुरुप अघि बढेमा सहकारी अभियान थप सार्थक बन्नेछ भन्ने विश्वास लिएको पनि जनाए ।
