बागमती प्रदेशका नागरिकलाई निःशुल्क रगत
मकवानपुर । बागमती प्रदेश सरकारले आफ्ना प्रदेशवासीलाई रगत निःशुल्क उपलव्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । प्रदेश सरकारले यसअघि गरेको निर्णय कार्यान्वयनमा ल्याएको हो । बुधबार केन्द्रीय रक्तसञ्चार केन्द्र (ब्लड बैंक) र स्वास्थ्य कार्यालय काठमाडौंबीच प्रदेशवासीलाई निःशुल्क रगत उपलव्ध गराउने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार काठमाडौंमा वीर अस्पताल र टोखा स्थित चण्डेश्वरी अस्पतालको सिफारिसमा केन्द्रीय रक्तसञ्चार केन्द्र (ब्लड बैंक) बाट निःशुल्क रगत उपलव्ध गराईने छ । अब प्रदेशसवासीले १० पिन्ट रगतको शुल्क तिर्नु पर्दैन । साथै रक्त क्यान्सर र रगत जन्य अन्य रोगहरु जसमा बढी रगत आवश्यक पर्छ, त्यसका लागि २० पिन्ट सम्म पूर्ण निःशुल्क उपलव्ध हुने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
यसअघि ब्लड बैंकले परीक्षणको शुल्क बापत भन्दै क्रस म्याच गरेको रगत लिन जाँदा एक पिन्टको १ हजार २५० रुपैयाँ र क्रस म्याच नगरेको रगत लिन जाँनेसंग १ हजार १५० रुपैयाँ लिने गर्दथ्यो । अब सो शुल्क बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले सोध भर्ना गरिदिनेछ ।
