८० वटा देशका कलाकारहरुको सहभागितामा पोखरामा सांस्कृतिक महोत्सव हुने
काठमाडौँ । द वल्ड कल्चर आर्टिस एशोसिएसन नेपाल र सोजेएम इन्टरटेन्टमेन्ट नेपालको संयुक्त आयोजनामा पोखरामा उरल अल्टायिक ल्याङगोजेन हाङसोङ कल्चर फेस्टिवल हुने भएको छ । आगामी सन् २०२३ को डिसेम्बरमा १५ दिनसम्म चल्ने सो फेस्टिवलमा विश्वका ८० देशका गायक गायीका, ब्याण्ड, मोडलहरुले सहभागिता जनाउने एशोसिएसनका अध्यक्ष डम्बरबहादुर विसीले जानकारी दिए ।
कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन तथा नागरिक उड्ययनमन्त्री मणिभद्र शर्माले पर्यटकीय नगरी पोखरामा आयोजना हुन लागेको यो कार्यक्रमले पर्यटनको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले कोरोनापछि विश्वमा नेपालको पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुने बताए । मन्त्री शर्माले यो कार्यक्रमले देशको आर्थिक विकासको क्षेत्रमासमेत महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे । मन्त्री शर्माले प्रदेश सरकारको तर्फबाट फेस्टिवलको लागि आवश्यक जग्गा तथा अन्तर्राष्ट्रिय कलाकारहरुको सुरक्षा सरकारले गर्ने बताए ।
सोजेएम इन्टरटेन्टमेन्ट नेपालका अध्यक्ष प्रकाश सुवेदीले नेपाल र विश्वका ८० भन्दा बढी देशबीचको संस्कृति एक आपसमा आदानप्रदान गरी आपसी सदभाव सांस्कृति प्रर्वद्धन गर्दै विश्वभरका पर्यटकहरु नेपाल भित्र्याई नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्य रहेको बताए । दि वल्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसन कोरियाका प्रेसिडेन्ट वाङ्ग जिमीनले रसिया, टर्की, फिलीपिन्स, ब्राजिललगायतका यस्तो फेस्टिवल सफलतापूर्वक सम्पन्न गरेको भन्दै सुन्दर देश नेपालको पोखरामा हुन लागेकाले आफु उत्साहित भएको बताए ।
