ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

तु खबर संवाददाता
२०७८ चैत्र १६, बुधबार ०८:५४
सांकेतिक तस्वीर

पोखरा । कास्कीको पोखरा महानगरपालिका–८ सभागृह चोकमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । आज (बुधबार) बिहान अन्दाजी ४ बजेको समयमा ना ६ ख ४७२५ नम्बरको ट्रकले ग १४ प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक पोखरा महानगरपालिका–१५ नयाँगाउँ बस्ने १८ वर्षीया अन्जना पाईजा रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

ट्रकको ठक्करबाट स्कुटरको पछाडि सवार पोखरा महानगरपालिका–१० घलेचोक बस्ने १८ वर्षीया मिना गुरुङ भने घाइते भएकी छन् । उनको ढाडमा चोट लागेको र अवस्था सामान्य रहेको छ । घाइते उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।