मकवानपुरमा म्यादी प्रहरीका लागि साढे ३ हजारभन्दा बढीको आवेदन
मकवानपुर । आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरमा म्यादी प्रहरीमा भर्ना हुन साढे ३ हजारभन्दा बढीले आवेदन दिएका छन् । जिल्लामा म्यादी प्रहरीमा भर्ना हुन ३ हजार ७ सय ३७ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गत आइतबारदेखि शुक्रबारसम्मका लागि आवेदन दिन आव्हान गरिएकोमा २ हजार ५ सय ९६ जना पुरुष तथा १ हजार १ सय ४१ जना महिलाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
स्थानीय तहको निर्वाचनका लागि मकवानपुर जिल्लामा १ हजार ३ सय २२ जना म्यादी प्रहरी आवश्यक पर्ने प्रहरी प्रवक्ता रिमालको भनाइ छ । उनका अनुसार, जिल्ला प्रहरी कार्यालयले चैत्र १३ गते अर्थात आज सम्पर्क मिति तय गरेको छ भने चैत्र १५ गते शारीरिक तथा स्वास्थ्य परीक्षणको कार्य गरिनेछ ।
चैत्र २२ गते नतिजा सार्वजनिक गरेर चैत्र २८ गतेबाट तालिम सुरु हुनेछ । ४० दिन काम गर्ने म्यादी प्रहरीले तलब सुविधा ३० हजार २ सय ४० रुपैयाँ, रासन भत्ता ७ हजार २ सय रुपैयाँ, पोशाक भत्ता ६ हजार रुपैयाँ र निर्वाचनस्थलमा खटिन एक हजार रुपैयाँ यातायात खर्च पाउनेछन् ।
