मकवानपुरगढी बालमैत्री गाउँपालिका घोषित

तु खबर संवाददाता
२०७८ चैत्र १३, आईतवार ०९:०६

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको छ । शनिबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले एक समारोहबीच गाउँपालिकालाई बालमैत्री गाउँपालिकाको रुपमा घोषणा गरेका हुन् ।

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, तथा स्थानीय सरकार संचालन ऐन २०७४ ले निर्दिष्ट गरेको सुचक र मापदण्डहरु पुरा गरेको गढी गाउँपालिकालाई मुख्यमन्त्री पाण्डेले नेपालको चौथो तथा जिल्लाको तेस्रो बालमैत्री गाउँपालिका घोषणा गरेका हुन् ।

गाउँपालिका अध्यक्ष विदुर हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा सबै वडालाई ताम्रपत्र प्रदान गरिनुका साथै गाउँपालिकाका पूर्व जनप्रतिनिधि, सामाजिक व्यक्तित्व, राजनैतिक व्यक्तित्व तथा बालमैत्री घोषणा अभियानका विभिन्न सामाजिक तथा गैरसरकारी संघसंस्थाहरुलाई सम्मान गरिएको थियो ।

गढी–५ मा रहेको खेलमैदानमा भएको घोषणासभा कार्यक्रममा सिमलटार र भालुखोला क्षेत्रबाट हजारौं संख्यामा पञ्चेबाजा, खैजडी भजन, तामाङ समुदायका झाँकीहरुको साथमा विभिन्न सहकारी, वन समूह, युवा क्लब, विद्यालय, टोल विकासबाट बालमैत्री सम्बन्धी नारा लगाउदैं र्याली निकालिएको थियो । यस्तै, घोषणा सभामा राष्ट्रिय कलाकार निशान भट्टराई, स्वस्तिका ढकाल, प्रकाश तामाङ तितुङले आफ्नो सांगीतिक प्रस्तुती दिनुका साथैं विद्यालयका बालबालिकाले गायन, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संघीय अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, संविधानसभा सदस्य प्रल्हाद लाछिाने, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, बालमैत्री राष्ट्रिय सहजकर्ता विष्णुप्रसाद चौवे, गाउँपालिका स्तरीय बालसंजालका अध्यक्ष विशाल तिमल्सिना, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, बकैया गाउँपालिकाका उपाध्यक्ष सरला बोलख लगायत सामाजिक संघसंस्था तथा राजनैतिक दलका प्रतिनिधिहरुको अतिथ्यता रहेको थियो ।