सवारी दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु
कास्की । कास्कीको पोखरा महानगरपालिका–२७ विजयपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार ग २२ प ००७ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएर ग १ क ९९६ नम्बरको स्कुल बसमा ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्कुटर चालक पोखरा महानगरपालिका–१४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्ले रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस्तै, सोही घटनामा पैदलयात्री एक जना महिला घाइते भएकी छन् । पैदलयात्री महिला भने उपचार पश्चात डिस्चार्ज भइसकेकी छन् । प्रहरीले स्कुटर र बसलाई नियन्त्रणमा लिइ घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
