हेटौंडामा ट्याक्टर दुर्घटना, एकको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडामा आज बिहानै ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ८ बस्ने २८ वर्षीय सागर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, बिहान २ बजेको समयमा भुन्द्रुङबाट बस्तिपुर हाईवेतर्फ आउँदै गरेको ना ६ त १८४५ नम्वरको खाली ट्याक्टर हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ राप्तिखोलास्थित काठको पुलबाट क्रस गर्ने क्रममा अचानक पुल भाचिएर दुर्घटना हुँदा स्याङ्तानको मृत्यु भएको हो ।
मृतक स्याङ्तान ट्याक्टर चालक हुन् । उनको शव पानीमुनि ट्याक्टरले चापिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
