भेरी नदीमा ट्रक खस्दा एक जनाको मृत्यु, एक बेपत्ता

तु खबर संवाददाता
२०७८ चैत्र ७, सोमबार १५:२२

सुर्खेत । भेरी नदीमा मिनी ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान १ बजेको समयमा गोतामकोट देखी डोल्पाको खदाङ तर्फ खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको मिनी ट्रक भेरी नदीमा खस्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ट्रकका सहचालक आठबिसकोट नगरपालिका–६ का २२ वर्षीया धनबहादुर बोहरा रहेका छन् । दुर्घटनामा परेर उनको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरीका कार्यालय प्रहरी नायव उपरीक्षक तथा सह–प्रवक्ता गणेशबहादुर बमले जानकारी दिए ।

उक्त ट्रकमा ४ जना सवार थिए । तीमध्ये बोहराको मृत्यु भएको हो । यस्तै, सोे दुर्घटनामा परेर एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् । घाइतेलाई प्रहरीले उद्दार गरी स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने बेपत्ता हुनेमा आठबिसकोट नगरपालिका–६ का २३ वर्षीय अनिल बिक रहेका छन् ।