दुर्घटनामा ट्याक्टर चालकको मृत्यु

तु खबर संवाददाता
२०७८ चैत्र ६, आईतवार ०९:५१
सांकेतिक तस्वीर

बैतडी । बैतडीमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति बालुवा बोकेर मौराबाट फर्किरहेको सुपप्र ०१००–२ त ५५९८ नम्वरको ट्याक्टर दशरथचन्द नगरपालिका–१० बाराकोटको भाटाला भन्ने ठाउँमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ट्याक्टर चालक बर्दिया ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारू रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।