मकवानपुर दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

तु खबर संवाददाता
२०७८ चैत्र ४, शुक्रबार ११:४९

मकवानपुर । मकवानपुरको मनहरीमा आज बिहान भएको बस दुर्घटनामा परेर मृत्यु भएकाहरुको पहिचान खुलेको छ । बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा ४ख ४४५४ नम्वरको यात्रुबहाक बस दुर्घटना भएको थियो । सोही दुर्घटनामा परेर मृत्यु भएका दुबै जनाको पहिचान खुलेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

मृत्यु हुनेमा बसका सहचालक नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर–४ घर भएका २२ वर्षीय सुवास श्रेष्ठ र बसमा सवार सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेको इलाका प्रहरी कार्यलय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

उक्त दुर्घटनामा परेर घाइते हुनेको संख्या १५ जना पुगेको छ । घाइतेहरुलाई उपचारको लागि चितवनको भरतपुर अस्पताल पठाइएको प्रहरी निरीक्षक थापाले बताए । उनका अनुसार, बसमा कति यात्रु थिए भन्ने एकिन भइनसकेको छैन । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।