बागमती प्रदेश प्रमुख र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्षबीच भेटवार्ता

तु खबर संवाददाता
२०७८ चैत्र २, बुधबार १७:५३

मकवानपुर । बागमती प्रदेश  प्रमुखयादव चन्द्र शर्मा र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग, नेपालका अध्यक्ष युवराज सुवेदीबीच भेटवार्ता भएको छ । उनीहरुबीच बुधबार भेटवार्ता भएको हो ।

भेटमा आयोगका अध्यक्ष युवराज सुवेदीले आयोगबाट हालसम्म भएका कार्यका बारेमा जानकारी गराएका थिए । अध्यक्ष सुवेदीले २०५२ साल फागुन १ गतेदेखि २०६३ मंसिर ५ गतेसम्म भएको सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा आयोगले गरिरहेको छानबिन, परिचयपत्र वितरण, सम्बन्धित ऐन नियम एवम् नीतिमा भए बमोजिम उनीहरुका लागि प्रदान गरिनुपर्ने सुविधाका बारेमा चर्चा गरे ।

उनले बेपत्ता पारिएका व्यक्तिका विषयमा आयोगले संघ, प्रदेश तथा स्थानीय तहमा गरेको सिफारिस कार्यान्वयन गराउन सहजीकरणका लागि प्रदेश प्रमुख शर्मालाई आग्रह पनि गरे ।

यस्तै, प्रदेश प्रमुख शर्माद्वारा आयोगले लामो समयदेखि गर्दै आइरहेको कामको प्रशंसा गर्दै खुशी व्यक्त गरे । उनले आयोगका सिफारिस कार्यान्वयनका लागि सम्बन्धित पक्षहरुसँग समन्वय तथा आवश्यक सहजीकरणका लागि आफू सदैव लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

भेटघाट तथा छलफलमा आयोगका सदस्यहरु सुनिलरञ्जन सिंह, सहसचिव कृष्णप्रसाद पुडासैनी, उच्च सरकारी वकिलको कार्यालय, हेटौंडाका सहन्यायधिवक्ता सन्देश श्रेष्ठ, बागमती प्रदेश प्रमुख कार्यालयका सचिव शिवराम न्यौपाने, उपसचिव कृष्णप्रसाद आचार्यको उपस्थिति रहेको थियो ।