नवोदय शिशु सदन अंग्रेजी विद्यालयमा बुक टक

तु खबर संवाददाता
२०७८ चैत्र २, बुधबार १६:२३

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयमा बुधबार पुस्तक परिचर्चा (बुक टक) भएको छ । कक्षा १ देखि ३ सम्मका विद्यार्थीले किताब अध्ययन गरी ‘लेभल–३’ मा पुग्न सफल भएका ११ जना विद्यार्थीले आफूले पढेको पुस्तकको बारेमा परिचर्चा गरेका हुन् ।

कार्यक्रम नवोदय विद्यालय कक्षा ३ मा अध्ययनरत छात्र अनुशिलन अधिकारीको अध्यक्षता तथा झरना साहित्यिक परिवार मकवानपुरका उपाध्यक्ष विश्वनाथ सञ्जेलको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा प्रमुख अतिथि रहेका सञ्जेलले साहित्य क्षेत्रमा कलम चलाउँदै सिर्जनशील क्षमताको विकास हुनेमा जोड दिएका थिए । उनले जीवित हुँदै राम्रो काम गर्नुपर्छ भन्ने विषय वस्तुलाई आधार मानी गाई र खसीको कथा विद्यार्थी सामु प्रस्तुत गरेका थिए ।

पठन सीपको विकास गराउने उद्देश्यले संचालन गरेको उक्त कार्यक्रममा विद्यार्थीले नाटक प्रस्तुत गर्नुका साथै नृत्य पनि प्रस्तुत गरेका थिए । ‘पुस्तकले नै संसारलाई परिवर्तन गर्न सक्छ । त्यसैले आधारभूत तहबाट नै विद्यार्थीलाई पठन सीपको विकास गराउनुको साथै बोल्ने सीपको विकास गराउने उद्देश्यले बुक टक कार्यक्रम आयोजना गरेको हौँ ।’– कार्यक्रमका संयोजक जमुना थापाले भनिन् ।

बुक टकमा सहभागी भएका ११ जना विद्यार्थीलाई संयोजकद्वय जमुना थापा र सोहिता भट्टराईले प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा नवोदय विद्यालयका भाइस प्रिन्सिपल दुर्गा भट्टराई, शैक्षिक संयोजक अव्यक्त खनालको आतिथ्यता रहेको थियो ।