नवोदयको ‘म्याथ क्याम्प फायर’

तु खबर संवाददाता
२०७८ फाल्गुन ३०, सोमबार १५:१६

मकवानपुर । नवोदय म्याथ क्लबले आइतबार अन्तर्राष्ट्रिय पाइ डे (मार्च १४) का दिन ‘म्याथ क्याम्प फायर’ कार्यक्रम आयोजना गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा रहेको म्याथ क्लबले अन्तर्राष्ट्रिय पाइ डे मार्च १४ मा र असार १४ गते म्याथ क्याम्प फाइर कार्यक्रम गर्दै आइरहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि रहेका म्याथ काउन्सिल मकवानपुरका सहसचिव इन्द्रबहादुर कार्कीले गणित विषय घर, समाज र विद्यालयमा बढी उपयोग हुने भएकाले अरु विषयको तुलनामा महत्वपूर्ण रहेको बताए । ‘गणित विषय प्रयोगात्मक हो’ कार्कीले भने, ‘पढ्नमा कठिन भएतापनि अभ्यासलाई निरन्तरता दिइने हो भने यो विषय सहज र सजिलो छ ।’ गणित विषयप्रति विद्यार्थीको झुकाव बढी रहेकोमा उनले विद्यार्थीप्रति खुसी व्यक्त गरे ।

यसैगरी, नवोदय विद्यालयका विद्यालय निर्देशक दीपेश जोशीले म्याथ क्याम्पफाइर कार्यक्रमले गणित विषय पढ्नमा सहयोग मिलेको बताए । उनले नवोदय म्याथ क्याम्प फायर कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे । ‘गणित किताबी ज्ञानमा मात्र नभई व्यवहारिक रुपमा पनि प्रयोग हुने गर्दछ ।’

यस्तै, गणित विषयका शिक्षक अनु श्रेष्ठले भनिन् –‘गणित विषय धेरै कुरामा प्रयोग हुने गर्दछ । व्यक्तिगत जीवनमा गणित विषयले कसरी असर पुर्याइरहेको छ भन्ने विषयलाई लिएर क्याम्प फायरमा विद्यार्थीहरुले जानकारी गराउने छन् ।’ विद्यालयको प्राङ्गणमा स्टल निर्माण गरी विद्यार्थीहरुले टुकी बत्ती, टपरी, रङ्गोली, पानीघट्ट, राष्ट्रिय झण्डा, नाङ्लो, मुडा, मानापाथी, मादल, कोदालो, खुकुरी, हवनकुण्ड, घर, करुवा, गुन्द्री, ग्रामोफोन निर्माण गर्दा गणित विषयको प्रयोगको बारेमा सहजीकरण गरेका थिए ।

कार्यक्रमले गणित विषयलाई फरक–फरक दृष्टिकोणबाट हेर्न र सिकाउनका लागि मद्दत मिल्ने विद्यार्थी लिजा विष्टले बताइन् । म्याथ क्याम्प फायर कार्यक्रमबाट पढाइमा सहयोग मिल्नुको साथै अनुसन्धान गरी वस्तुको अवस्थाको बारेमा जानकारी हासिल हुने भएकोले गर्दा यो कार्यक्रम बढी उपयोगी हुने उनले बताइन् । गणित उपयोगिताबारे हुने कार्यक्रम म्याथ क्याम्प फायर कार्यक्रम यसअघि भर्चुअल माध्यमबाट भएको थियो ।