दुर्घटनामा परेर ३ जनाको मृत्यु
तनहुँ । तनहुँमा आइतबार दिउँसो सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आइतबार दिउँसो पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा यात्रुबाहक बस र टाटासुमो एक आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
चितवनबाट पोखरातर्फ आईरहेको ग २ ख ३०७ नम्वरको बस र विपरीत दिशाबाट गइरहेको ग ३ च ६०१२ नम्वरको टाटासुमो एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुको पहिचान खुलेको छैन ।
उक्त दुर्घटनामा परेर टाटासुमोमा सवार ९ जना र बसमा सवार ४ जना घाइते भएका थिए । तीमध्ये टाटासुमोमा सवार ९ जना घाइतेलाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज रिफर गरिएकोमा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन ।
टाटासुमो बससँग ठक्कर खाएर सडकबाट अन्दाजी पाँच मिटर तल खसेको थियो । बसमा सवार घाइते ४ जनाको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा उपचार भइरहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । उनीहरुको अवस्था सामान्य छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
