डोजरे विकासको अन्त्य नै विपद्को दिगो व्यवस्थापन : सांसद् श्रेष्ठ

तु खबर संवाददाता
२०७८ फाल्गुन २९, आईतवार १७:२२
file-photo

मकवानपुर । बागमती प्रदेशका सांसद् विराजभक्त श्रेष्ठले डोजरे विकासको अन्त्य नै विपद्को दिगो व्यवस्थापन भएको बताएका छन् । सांसद श्रेष्ठले आइतबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ संशोधनको लागि बनेको विधेयकमाथिको छलफलको क्रममा डोजरे विकास कायम रहेसम्म बागमती प्रदेश सरकार आक्रान्त भइरहेने बताए ।

‘विपद्को मुख्य कारण भनेको हाम्रो समाजमा रहेको डोजरे विकास हो । यसको अन्त्य नै विपद् व्यवस्थापनको दिगो उपाय हो’ उनले भने । उनले विपद्को दिगो व्यवस्थापनका लागि अव्यवस्थित अव्यवस्थित रुपमा हुने गरेको विकासले थप जटिलता भएको बताउँदै त्यस्तो प्रकारको विकास प्रवृत्तिको अन्त्य हुन जरुरी रहेको बताए ।

उनले विपद् व्यवस्थापनको लागि बायो इन्जिनियरीङ्गका प्रविधिहरु अपनाउन जरुरी रहेको बताए । बायो इन्जिनियरीङ्गका सफल प्रविधिहरु प्रयोग गरेर विपद् व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ । सरकारले विपद् व्यवस्थापनको लागि पूर्व तयारी नगर्दा समस्या हुने गरेको उनको भनाई छ । सरकारले विपद् पछि अवलोकनका नाममा हेलिकप्टरमा गएर चाउँचाउ र चिउरा बाड्ने प्रवित्तिको अन्त्य गरी दिगो व्यवस्थापनमा ध्यान दिन जरुरी रहेको उनले बताए ।