इन्जिनियर्स एसोसिएसन निर्वाचनः हेटौंडाका चार जनाले दिए उम्मेदवारी

तु खबर संवाददाता
२०७८ फाल्गुन २४, मंगलवार १८:२६

मकवानपुर । हेटौंडाका चार जना इन्जिनियरले नेपाल इन्जिनियर्स एसोसिएसनको ३३ औं केन्द्रीय कार्यकारिणी समिति र दोस्रो बागमती प्रदेश समितिको निर्वाचनमा उम्मेदवारी दिएका छन् । हेटौंडा घर भई सरकारी तथा निजी क्षेत्रमा काम गर्दै आएका चार जनाले केन्द्रीय कार्यकारिणी समिति सदस्य, बागमती प्रदेश अध्यक्ष र प्रदेश सदस्यमा उम्मेदबारी दिएका हुन् ।

यही फागुन २७ गते हुने इन्जिनियर्स एसोसिएसनको केन्द्रीय र प्रदेश निर्वाचनअन्तर्गत् बागमतीको मकवानपुर, चितवन र काठमाडौंमा मतदान केन्द्र तोकिएको छ ।एसोसिएसनको केन्द्रीय कार्यकारिणी समिति सदस्यमा हेटौंडा–४ का सुरज गौतमले डा. सुरज लामिछाने नेतृत्वको समूहबाट उम्मेदवारी दिएका हुन् । गौतम ‘आइआरडी योङ साइन्टिष्ट’ अवार्ड बिजेता हुन् । गौतम इन्स्टिच्युट अफ हिमालयन रिक्स रिडक्सनका कार्यकारी निर्देशक हुन् भने नेपाल फ्लाइङ ल्याब्सका निर्देशक हुन् ।

यस्तै, एसोसिएसनको बागमती प्रदेश अध्यक्षमा हेटौंडा–११ नवलपुरका विनोद सापकोटाले उम्मेदवारी दिएका छन् । सापकोटा इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पसका उपप्राध्यापक हुन् । हेटौंडा–४ का प्रवेशराज देवकोटाले एसोसिएसन बागमती प्रदेश सदस्यमा उम्मेदवारी दिएका छन् । देवकोटा नेपाल विद्युत प्राधिकरण कुलेखानी तेस्रोका इन्जिनियर हुन् ।

यसैगरी, नेपाल टेलिकम हेटौंडा शाखा प्रबन्धक बसन्त लिङथेपले एसोसिएसन केन्द्रीय कार्यकारिणी समितिको इन्जिनियरिङ परिषद् समूहमा उम्मेदवारी दिएका छन् । इन्जिनियरिङ क्षेत्रमा २५ वर्षदेखि अनवरत काम गरिरहेका लिङथेपसँग नेपाल टेलिकमको विभिन्न निर्देशानलयमा र विभागमा कार्यालय प्रमुख र सिस्टम प्रमुख भई कार्य गरेको अनुभव छ ।

गतवर्ष चैत २४ गते तोकिएको एसोसिन केन्द्रीय र प्रदेश समितिको निर्वाचन कोरोना महामारीका कारण पटक–पटक सारिँदै आएको थियो । यसअघि ७ माघमा गर्ने भनिएको निर्वाचन प्रक्रिया पुनः सरेर फागुन २७ गते गर्ने भएको हो । मतदान केन्द्र हेटौंडाका निर्वाचन अधिकृत इन्जिनियर सुदीप फुयाँलले बागमती प्रदेशभर १२ हजार ६ सय ९१ मतदाता रहेको जानकारी दिए । हेटौंडा–१०, स्थित नेपाल विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालयमा मतदान केन्द्र तोकिएको छ ।