राष्ट्रिय सभाका सदस्यहरूले गरे शपथ ग्रहण

तु खबर संवाददाता
२०७८ फाल्गुन २१, शनिबार १७:२९
file-photo

काठमाडौं । गत माघ १२ गते भएको राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित भएका १९ जना सदस्यहरुले आज (शनिबार) शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा आज आयोजित एक कार्यक्रमबीच उनीहरुले शपथ ग्रहण गरेका हुन् । उनीहरुलाई राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिल्सिनाले पथ तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट ५, नेकपा एकीकृत समाजवादीबाट ५, नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट एक–एक जना सदस्य निर्वाचित भएका थिए । सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक जना सदस्य मनोनित हुन बाँकी छ ।

निर्वाचनमा नेपाली कांग्रेसबाट गोपाल कुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ, नारायणदत्त मिश्र, माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट, जगतबहादुर पार्की, एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहरा, मदन कुमारी शाह (गरिमा), नेकपा एमालेबाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका थिए ।

राष्ट्रिय सभाका २० सदस्यहरुको पदावधि हिजो (फागुन २० गते) देखि समाप्त भएको छ । राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाले सिंहदरबार नजिकको एक होटलबाट ती सांसदहरुलाई विदाइ गरेका थिए ।