बीच बाटोमा बिजुलीको पोल परेपछि स्ल्याबमा अवरोध
मकवानपुर । बिजुलीको पोल बीच बाटोमा परेकाले सडकमा स्ल्याब ढलानमा अवरोध सिर्जना भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११, सागरपथस्थित सडकमा स्ल्याब ढलान जारी रहँदा बिजुलीको पोल बीच बाटोमा परेकाले ढलानमा अवरोध सिर्जना भएको हो ।
हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको स्ल्याब ढलानमा पोलका कारण बाधा पुगेको छ । विद्युत् प्राधिकरणलाई पटकपटक आग्रह गर्दा र वडा कार्यालयको सिफारिसपत्र लैजाँदा पनि पोल सार्न नमान्ने र पोल सारेबापत् २५ हजार रुपियाँ माग गरिएको सागरपथ टोल विकास समिति अध्यक्ष सूर्यबहादुर थिङले जानकारी दिए ।
‘एउटा सरकारी तहले बजेट छुट्याएर विकास निर्माणको कार्य अगाडि बढाउन अनुमति दिइरहँदा अर्को सरकारी निकायले आफूखुसी रकम माग गर्दै विकासको काममा बाधा पुर्याइरहेको छ,’ उनले भने–त्यसो गर्नु जायज होइन । हामीले विद्युत् महसुल तिरिरहेका छौं । नियमपूर्वक पोल हटाउन निवेदन दिँदा पनि निवेदन दर्ता गरिएन । तल्लो थाना भर्याङ्का स्थानीय बुद्धिनाथ न्यौपानेले प्राधिकरणले विकासमा अवरोध पुर्याएको गुनासो गरे । ‘नहटाउँदा पोललाई बीच बाटोमै पारेर ढलान गर्नुपर्ने बाध्यता सिर्जना भएको छ,’ उनले भने ।

