दुर्घटनामा दुई जनाको मृत्यु, दुई जना घाइते

तु खबर संवाददाता
२०७८ फाल्गुन १२, बिहीबार १५:२६
सांकेतिक तस्वीर

दाङ । रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्वर ५ झिङ्गेटारमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका–१४ का अन्दाजी २५ वर्षीय गोविन्द बुढा र भूमे गाउँपालिका–५ उपल्लो साकिमका २५ वर्षीय दामु बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

प्रहरीका अनुसार, रुकुम पूर्वको धाउने–बालुवा–देउखोला सडकखण्डमा काम गरिरहेको बेला ढुंगा झार्ने क्रममा बा २ क ७०१८ नम्बरको टिपर अनियन्त्रित भएर पल्टिंदा काम गरिरहेका मजदुहरुलाई थिचेको थियो । दुर्घटनामा परेर घाइते भएका उनीहरुलाई उपचारको लागि रुकुम (पूर्व) अस्पतालमा लागिएको थियो । उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।

यस्तै, सोही दुर्घटनामा अन्य दुई जना घाइते छन् । घाइते हुनेमा लामा कन्स्ट्रक्सनका सव इन्जिनीयर ३५ वर्षीयका ध्रुव घिमिरे र उदयपुर चौबन्दिगढी नगरपालिका–५ का २३ वर्षीय रामआशिस चौधरी रहेका छन् । दुवै जनाको रुकुम (पूर्व) अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये सब–इञ्जिनियर घिमिरेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उक्त टिपर ढुंगा झार्ने क्रममा पल्टिदा अन्दाजी १०/१५ मिटर तल खसेको थियो । टिपर चालक दोलखाका ३२ वर्षका सन्तोष माझीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।