टिपर दुर्घटना हुुँदा ३ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ फाल्गुन ९, सोमबार १८:००

धनगढी । बैतडीमा सोमबार दिउँसो टिपर दुर्घटना हुुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–३ को मानिकाखान–बोहोरीगाउँ कच्ची सडकखण्डमा बा ३ ख ४८७९ नम्वरको टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

मृत्यु हुनेहरुमा टिपरधनी ४५ वर्षका जनकराज पन्त, स्थानीय सिगास माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी १७ वर्षका ललित अवस्थी र १३ वर्षका ज्ञानु विष्ट रहेका छन् । दुर्घटनामा परेर उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।