प्रजातन्त्र दिवसको कार्यक्रममा उपस्थित भएन एमाले, प्रदेश प्रमुख र सभामुख पनि अनुपस्थित
मकवानपुर । बागमती प्रदेश सरकारले प्रजातन्त्र दिवसको अवसरमा शनिवार आयोजना गरेको कार्यक्रममा प्रमुख विपक्षी दल नेकपा एमाले सहभागी भएन । प्रदेश सरकारले तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने निर्णय गरी आज शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो । तर प्रमुख विपक्षी एमाले उपस्थित नभएको हो ।
कार्यक्रमस्थलमा गठबन्धनका मन्त्री, तथा सांसद्हरुको मात्रै उपस्थिति रहेको थियो । विपक्षी एमालेसहित अन्य दलका नेता, सांसद् कोही पनि आएका थिएनन् । आयोजकले पनि विपक्षी दललाई सम्बोधन गरेन । त्यस्तै कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्मा, सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ पनि देखिएनन् । प्रदेश प्रमुख शर्माले भने स्वास्थ्य समस्याका कारण कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी गराएका थिए । मञ्चमा मुख्यमन्त्री राजेन्द्र पाण्डे, आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेल तथा स्वास्थ्यमन्त्री निमा लामा मात्रै अटाएका थिए ।

