थाहा नगरका कृषकलाई अनुदानमा मिनिटिलर वितरण
मकवानपुर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकवानपुरको आयोजनामा थाहा नगरका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरण गरिएको छ । विहिबार एक कार्यक्रमबीच थाहा नगरमा ३६ वटा मिनिटिलर वितरण गरिएको हो ।
कृषि सहकारी, कृषक समुह तथा व्यक्तिगत कृषि फर्ममा आवद्ध कृषकहरुलाई अनुदानमा मिनिटिलर वितरण गरिएको हो । थाहा नगरपालिका वडा नम्वर ४ का वडा सदस्य नारायण लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कृषकहरुलाई मिनिटिलर गरियो ।
वडा सदस्य लामाले कृषि पेशालाई सहज र व्यवस्थित बनाउनको लागि तरकारी जोनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । तरकारी जोन मकवानपुरका प्रमुख कृष्ण प्रसाद पौडेलले कृषिमा यान्त्रिकरण गरी उत्पादन लागत कम गर्न र कृषकहरुलाई स्वरोजगार बनाउन आफुहरु सहयोग गर्न तत्पर रहेको बताए ।
कार्यक्रममा तरकारी जोन संचालक समिति अध्यक्ष सुविनभक्त श्रेष्ठ, कृषि सहकारी संघ मकवानपुरका संचालक राजकुमार केसी, तरकारी जोन मकवानपुरका कृषि विकास अधिकृत अनिल तिवारीलगायत सहकारी समुह र फर्मका पदाधिकारीको उपस्थिति रहेको थियो । हाल तरकारी जोनले थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा कार्य गर्दै आइरहेको छ ।
