सत्ता गठबन्धनको बैठक बस्दै, एमसीसीबारे छलफल हुने

तु खबर संवाददाता
२०७८ फाल्गुन ५, बिहीबार ०८:२९
file-photo

काठमाडौं । आज सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने भएको हो । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । शुक्रबार प्रतिनिधि सभामा एमसीसी पेश गर्ने तयारी भएकाले साझा धारणा बनाउने प्रयासमा गठबन्धनको बैठक बस्न लागेको हो ।

बुधबारकै संसद बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी थियो । तर, दलहरुबीच सहमति कायम हुन नसकेको भन्दै त्यसलाई स्थगित गरिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भेटवार्तामा एमसीसी संसदमा पेश गर्नुभन्दा अघि गठबन्धनको बैठक बोलाउने सहमति भएको थियो सोही अनुसार, आज गठबन्धनको बैठक बस्न लागेको हो ।

नेपाली कांग्रेस एमसीसी देशकै हितमा भएको भन्दै यसलाई जस्ताकोतस्तै संसदबाट पारित गर्नुपर्ने पक्षमा छ । तर, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संशोधनविना यसलाई संसदमा लैजान नहुने अडानमा छन् । एमसीसी विरुद्ध हिजो देशैभर प्रदर्शन भएको थियो ।