बागमती प्रदेशका ६९.७६ प्रतिशत भेडा बाख्रामा लगाइयो पिपिआर विरुद्ध खोप

तु खबर संवाददाता
२०७८ फाल्गुन ४, बुधबार १८:०६

मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुमा लाग्ने पिपिआर रोगविरुद्ध सप्ताहव्यापी रुपमा खोप अभियान संचालन गरेको छ । गत माघ २५ गतेदेखि फागुन २ गतेसम्म अभियान संचालन गरी प्रदेशको ६९.७६ प्रतिशत भेडाबाख्रामा खोप लगाइएको मन्त्रालयका प्रवक्ता राजन ढकालले जानकारी दिएका छन् । प्रदेशका १३ वटै जिल्लाको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र स्थानीय तहमा कार्यरत भेटेरिनरी डाक्टरमार्फत् एकैसाथ खोप सेवा प्रदान गरिएको मन्त्रालयले बुधबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो ।

सो अवधिमा ९८५ वटा खोप केन्द्र र ४३२ भ्याक्सिनेटरमार्फत् खोप सेवा प्रदान गरिएको हो । मन्त्रालयले खोप लगाउन उपयुक्त उमेरका ८ लाख ३० हजार १८७ भेडाबाख्रालाई सो खोप लगाउन सफल भएको हो । उक्त अभियान अन्तरगत काभ्रेपलाञ्चोकका ९९ हजार १८२, ललितपुरका २७ हजार ५८७, काठमाडौँका ३१ हजार ५५७, भक्तपुरका ६ हजार १८१, सिन्धुपाल्चोकका १५ हजार ९५२ भेडाबाख्रालाई खोप लगाइएको हो ।

त्यस्तै चितवनका ७१ हजार ४१८, मकवानपुरको १ लाख ६६ हजार ४२३, धादिङको ८३ हजार २७०, नुवाकोटको १ लाख २० हजार १९, रसुवाको २३ हजार १६५, सिन्धुलीको ४५ हजार ८२५ र रामेछापको ४४ हजार ६१० भेडाबाख्रालाई पनि खोप लगाइएको मन्त्रालयको तथ्याङ्क छ । अभियान अन्तरगत थोरै भेडाबाख्रा पालन गर्नेहरुको हकमा सामुहिक रुपमा र २० वटा भन्दाबढी भेडाबाख्रा भएको फर्ममा भने सम्बन्धित जिल्लाको स्थानीय तहको पशु सेवा शाखा तथा भेटेरिनरी अस्पतालबाट भ्याक्सिनेटर खटाई खोप सेवा प्रदान गरिएको हो ।

बागमती प्रदेश सरकारले खोप अभियानको प्रभावकारी संचालनको लागि ‘भेडा बाख्रामा लाग्ने पिपिआर रोग नियन्त्रण तथा रोकथामको लागि सप्ताहब्यापी खोप अभियान संचालन कार्ययोजना २०७८’ स्वीकृत गरी कार्यान्वयन गरेको छ । पिपिआर रोग लागेमा पशु बाँच्ने संभावना कम भएकोले यो रोग लाग्नै नदिन ३ महिना उमेर कटेका भेडा बाख्रालाई खोप लगाउनुपर्ने पशुपन्छि तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशका नि. निर्देशक डा. रामप्रकाश प्रधानले बताए । उनले यो खोप एक पटक लगाएको पशुलाई ३ बर्षसम्म लगाउनु नपर्ने बताए । सप्ताहव्यापी रुपमा खोप अभियान सम्पन्न भएको भएपनि बाँकी भेडाबाख्रामा सम्बन्धित जिल्लाको स्थानीय तहको पशु सेवा शाखामार्फत् खोप कार्य निरन्तर संचालनमा रहेको उनले जानकारी दिए ।

के हो पिपिआर रोग ?

पिपिआर भेडाबाख्रामा लाग्ने अति घातक संक्रामक रोग हो । यसलाई भेडा बाख्राको हैजा पनि भनिन्छ । यो रोग नेपालका सबै जिल्लामा देखा परिसकेको छ । यो रोग पुरानो ठाउँमा देखा पर्दा मृत्युदर कम भएपनि नयाँ ठाउँमा फैलिँदा ८० प्रतिशत मृत्युदरको सम्भावना हुन्छ । यो रोगको खास उपचार नभएकोले यसको नियन्त्रणको लागि सबैभन्दा प्रभावकारी पद्धति भनेकै खोप भएकोले खोप लगाउने कार्यलाई व्यापक रुपमा संचालन गर्नुपर्ने निर्देशनालयका प्रमुख प्रधान बताउँछन् । खोप कार्यलाई प्रभावकारी तवरले सञ्चालन गरिने बताउँदै उनले खोप अभियानमा सहभागि हुन प्रदेशभरका कृषहरुलाई आग्रह गरे ।

रोगका लक्षणहरु के के हुन् ?

पिपिआर रोग लागेको पशुलाई ज्वरो ४० देखि ४१ डिग्रि सेल्सियस १०४ डिग्रीदेखि १०६ डिग्री फरेनहाइट आउने गर्दछ । जनावर लोसे वा शान्त हुने गर्दछ । पशुको नाकबाट पानी बग्ने कालान्तरमा बाक्लो गन्हाउने सिंगान बगाउने, सिंगानको पाप्रा बनि नाकको प्वाल बन्द हुने स्वास फेर्न गाह्रो हुने, आँखामा रातो कचेरा निस्कने, निरन्तर आशु बग्ने, गिजामा कनिका छरेजस्तो स–साना दाना देखिने, हाडछाला हुने गरी दुब्लाउने, स्वास फेर्न गाह्रो हुने, शरीरको तापक्रम घटेर जाने, रगतमासी छेर्ने र रोग लागेको ५ देखि १० दिनमा पशुको मृत्यु हुने गर्दछ ।

रोगको रोकथाम तथा नियन्त्रण

रोग नियन्त्रणको सबैभन्दा उत्तम उपाय समयमै पिपिआरविरुद्ध खोप लगाउनु हो । यस रोगविरुद्ध हरेक ३÷३ वर्षमा खोप लगाउनु पर्दछ । खोप लगाउँदा ३ महिना उमेर माथिका सबै पशुलाई लगाउनु पर्दछ । यस रोगका विरुद्ध पहिलो पटक ३ महिनाको उमेर पुरा भएपछि लगाउने र तत्पश्चात खोप लगाउँदा हरेक ३÷३ बर्षको फरकमा फागुनदेखि चैत्र महिनामा लगाउनु पर्दछ । खोप लगाउँदा सानो वा ठुलो भेडा बाख्रालाई १ एमएल मासु वा छालामुनी लगाउनु पर्दछ । अन्यत्रबाट ल्याएका भेडाबाख्राहरुलाई खोप लगाएर २१ दिन छुट्टै राख्नु पर्दछ । फर्ममा जैविक सुरक्षा कडाइका साथ अवलम्वन गर्नु पर्दछ ।