आजबाट बागमती प्रदेशभर पिपिआरविरुद्ध खोप अभियान सुरु

तु खबर संवाददाता
२०७८ माघ २५, मंगलवार ०९:५९

मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आजबाट पशुमा लाग्ने पिपिआर रोगविरुद्ध खोप अभियान सुरु गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता राजन ढकालका अनुसार,  आजबाट फागुन २ गतेसम्म प्रदेशको १३ वटै जिल्लामा एकैसाथ खोप  अभियान संचालन गर्न लागिएको  हो ।

उनले सम्बन्धित जिल्लाको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र वा स्थानीय तहमा कार्यरत भेटेनरी डाक्टरहरुले खोप सेवा प्रदान गर्ने  बताए । प्रदेशभरका कृषकहरुले स्थानीय तहको पशु सेवा शाखा, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडा वा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सम्पर्क गरेर खोप सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्ने पशुपन्छि तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका प्रमुख डा. रामप्रकाश प्रधानले बताए ।

उनका अनुसार खोप अभियान संचालनको लागि प्रत्येक जिल्लाका स्थानीय तहहरुको समन्वयमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत् विभिन्न स्थानहरुमा खोप केन्द्रहरु निर्धारण गरिएका छन् भने प्रत्येक खोप केन्द्रहरुमा भ्याक्शिनेटर नियुक्त गरिएको छ । प्रदेशभरमा कूल १ हजार १ सय ३७ वटा खोप केन्द्र तय गरिएको छ भने ४ सय ६० जना भ्याक्शिनेटरले एकैसाथ खोप सेपा प्रदान गर्नेछन् ।