दुर्घटनामा एक जनाको मृत्यु
रुकुम । रुकुमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मंगलबार बेलुकी करिब ६ बजेको समयमा भूमेबाट रुकुम कोटतर्फ आउँदै गरेको रा १ च ३२४५ नम्वरको ट्याक्र भूमे गाउँपालिका–४ करालबगरमा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भूमे–८ का १९ वर्षीय सुनिल रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले जानकारी दिए । उनका अनुसार, दुर्घटनामा परेर रोका गम्भीर घाइते भएका थिए । घाइते उनलाई उपचारको लागि दाङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
यस्तै, सोही दुर्घटनामा परेर ट्याक्टर चालकसहित चार जना घाइते भएका छन् । घाइतेमध्ये भूमे–८ कै १९ वर्षीय सुन्दर रोकाको दाङमा र अन्य तीन जनाको उपचार जिल्लास्थित अस्पतालमै भइरहेको प्रहरी निरीक्षक बानियाँले बताए । ट्रयाक्टर सडकदेखि अन्दाजी ३०० मिटर तल खसेको थियो । उक्त घटनाको विषयमा प्रहीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
