हेटौंडामा बन्दको प्रभाव सामान्य
मकवानपुर । एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युुनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायतले आह्वान गरेको बन्दको प्रभाव बागमती प्रदेशको राजधानी हेटौंडामा सामान्य देखिएको छ । लामा दुरीका सवारी साधनहरु संचालनमा आएका छैनन् भने साना तथा दुइ पाङ्ना सवारी साधनहरु बिहानैदेखि निर्वाध चलिरहेका छन् ।
जिल्ला ट्राफिक प्रहरी मकवानपुरले बजार क्षेत्रमा सवारी साधनको चहलपहल अघिल्ला दिनहरुको तुलनामा केही कम रहे पनि अवस्था सामान्य रहेको जनाएको छ । बन्दको पूर्वसन्ध्यामा गृह मन्त्रालयले कानून विपरीतका गतिविधि हुन नदिन सबै सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाउन निर्देशन दिएको थियो ।
हेटौंडामा विहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यो समाचार तयार पार्दासम्म कुनै पनि अप्रिय घटना भएको छैन । यहाँका शैक्षिक संस्थाहरु, वित्तीय संस्थाहरु बन्द रहेका छन् । पसल व्यवसायहरु पनि आधाआधी बन्द छन् । बन्दकर्ताहरुको उपस्थिति पनि सामान्य देखिएको छ ।
