बागमती प्रदेशमा प्रजातन्त्र दिवस ३ दिन मनाइने

तु खबर संवाददाता
२०७८ फाल्गुन ३, मंगलवार १८:१४
मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश नम्बर ३ हेटौँडा, मकवानपुर

मकवानपुर । बागमती प्रदेशमा तीन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी प्रजातन्त्र दिवस मनाइने भएको छ । मंगलबार मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले फागुन ६,७ र ८ गते विभिन्न कार्याक्रमको आयोजना गरी प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकारका प्रवक्ता कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए ।

बैठकले मुख्यमन्त्री पाण्डे संयोजक रहने गरी आयोजक मुल समारोह समितिसमेत गठन गरेको छ । समितिको सदस्यहरुमा प्रदेशका सबै मन्त्रीहरु, मन्त्रालयका सचिव, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा सञ्चारकर्मीहरु रहेको प्रवक्ता खनालले बताए ।

उनका अनुसार ६ गते सार्वजनिक स्थल सरसफाइ, ७ गते साइकल र्याली र सभा तथा ८ गते नेपालको राष्ट्रिय झण्डात्तोलन गर्ने कार्यक्रम तय गरिएको छ । तीनदिनै दीपावली गरिनेसमेत उनले बताए । सञ्चार क्षेत्रबाट परिसंवाद कार्यक्रम सञ्चालन गर्ने र प्रचारप्रसारको जिम्मेवारी पत्रकार महासंघ वाग्मती प्रदेश समितिलाई दिइएको उनले बताए ।