दुर्घटनामा गुरुङको मृत्यु
चितवन । मुग्लिन–नारायणगढ सडकखण्डमा सोमबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ७ ख ८१४१ नम्बरको तेल बोक्ने ट्याङ्करले विपरित दिशातर्फ जाँदै गरेको ना ३२ प ८२४८ नम्बरको मोटरसाइकललाई जलबिरेमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ भुवनबस्तीकी ३१ वर्षीया अम्बिसा गुरुङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर उनी गम्भीर घाइते भएका थिए । घाइते उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै, सोही दुर्घटनामा परेर उनका श्रीमान ३५ वर्षीय मीनराज र छोरी ९ वर्षीया खुश्बु घाइते भएका छन् । उनीहरु दुबै जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
