झरनाले बकैया कला–साहित्य महोत्सव गर्ने

तु खबर संवाददाता
२०७८ फाल्गुन २, सोमबार १७:४८

मकवानपुर । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक मकवानपुरले बकैया कला–साहित्य महोत्सव–२०७८ गर्ने भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी यहि फाल्गुन २७ र २८ गते बकैया—३, हात्तिसुडेँमा बकैया कला–साहित्य महोत्सव गर्ने जनाएको छ । बकैया गाउँपालिकाको आर्थिक सहयोगमा हुन लागेको महोत्सव बकैया–३, हात्तीसुँडेस्थित बुद्ध माविको प्राङ्गण र बकैया गाउँपालिकाको सभाहलमा हुने झरनाका अध्यक्ष दिपक गौतमले जानकारी दिए । २०५० साल फागुन १२ गते तत्कालीन छतिवन गाविसमा जन्मेको परिवारले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा बृहत् साहित्य गोष्ठी आयोजना गर्दै आएकोमा पछिल्ला दुई वर्ष (२०७६) देखि बकैया साहित्य महोत्सव आयोजना गर्दै आइरहेको अध्यक्ष गौतमले बताए ।

उनले यसै वर्षबाट स्थानीय कला संस्कृतिको समेत जगेर्ना गर्ने उद्देश्यले बकैया कला–साहित्य महोत्सव गर्न लागेको बताए । दुई दिवसीय महोत्सवका क्रममा कविता, गजल, मुक्तक विशेष कार्यक्रमहरूका साथै स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले खैँजडी भजन, तामाङ, माझी, राईलगायतका जनजातिका कला संस्कृतिको प्रस्तुतिका साथै छिमेकी जिल्लाका कलाकारको विशेष प्रस्तुतिसमेत गरिने आयोजकले जनाएको छ । साथै, स्थानीय कलाकारका विविध कलाको प्रदर्शनीका साथै पुस्तक प्रदर्शनी गरिने साथै बहसमूलक कार्यक्रम र कार्यपत्र प्रस्तुतिसमेत गरिने संस्थाका सचिव मसान उपासकले बताए ।

उनले उक्त महोत्सवमा देशभरबाट करिब ५० जना साहित्यकार, गायक र बकैया गाउँपालिकाका राजनीतिक सामाजिक अगुवासहित करिब ५ सय जनाको उपस्थिति रहने अपेक्षा गरिएको बताए । महोत्सवका क्रममा नगद २१ हजार १२१ रुपैयाँ र सम्मानपत्रसहित होमनाथ टीकामाया प्रतिभा सम्मान–२०७८ बाट अग्रज साहित्यकार एवम् प्राज्ञ डा. देवी नेपाल (भक्तपुर), नगद १५ हजार ५५५ रुपैयाँ र सम्मानपत्रसहित शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान–२०७८ बाट अग्रज मुक्तककार वियोगी बुढाथोकी (काठमाडौँ), नगद १५ हजार ५५५ र सम्मानपत्रसहित बाबुलाल–भोजमाया स्मृति प्रतिभा सम्मान–२०७८ बाट अग्रज साहित्यकार आर. सी. रिजाल (मकवानपुर), नगद ७ हजार ७७७ र सम्मानपत्रसहित खडानन्द–मनमाया स्मृति युवा प्रतिभा सम्मान–२०७८ बाट युवा कवि यात्रीप्रकाश पाण्डे (धादिङ), नगद ७ हजार ७७७ र सम्मानपत्रसहित सुशीला ङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०७८ बाट युवाकवि शान्ति प्रियवन्दना (मकवानपुर), नगद ७ हजार ७७७ र सम्मानपत्रसहित सञ्जीवनी बुटी साहित्य सेवा सम्मान–२०७८ बाट समाजसेवी बेलप्रसाद दहाल (बकैया–४), नगद ७ हजार ७७७ , सम्मानपत्रसहित खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०७८ बाट कलाकार बाबुलाल वाइबा (मकवानपुर), नगद ७ हजार ७७७, सम्मानपत्रसहित झरना–बकैया पत्रकारिता सम्मान–२०७८ बाट पत्रकार गोकर्ण गौतम (मरणोपरान्त) बकैया–४ र नगद ५ हजार ५ रुपैयाँ र सम्मानपत्रसहित झरना–बकैया नवप्रतिभा सम्मान–२०७८ बाट उदीयमान गजलकार विजय दोङ बकैया–५ सम्मानित हुने संस्थाका सचिव उपासकले जानकारी दिए ।