ठेकेदारको लापरबाहीले हेटौंडास्थित मुख्यमन्त्री सभाहल अलपत्र (फोटो फिचर)

तु खबर संवाददाता
२०७८ फाल्गुन २, सोमबार १६:०१

मकवानपुर । निर्माण व्यवसायी कम्पनीको ढिलासुस्तीका कारण हेटौंडास्थित मुख्यमन्त्री सभाहल अलपत्र अवस्थामा पुगेको छ । म्याद समाप्त हुन ३ महिनामात्रै बाँकी रहँदा सभाहल निर्माणको १५ प्रतिशत मात्रै काम सम्पन्न भएको शहरी विकास तथा भवन कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रदेश सरकार र स्थानीय सरकारी कार्यालयद्वारा आयोजना हुने विभिन्न सभा, सम्मेलन तथा कार्यक्रम आफ्नै सभाहलमा गर्ने उदेश्यका साथ २०७७ कात्तिक १७ गते हेटौंडा उपमहानगरपालिकाको कार्यालय परिसरमा सभाहल निर्माणको कार्य प्रारम्भ गरिएको थियो । उपमहानगरकै स्वामित्वमा रहने गरी निर्माण गर्न लागिएको सभाहलको तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका थिए ।

निर्माण व्यवसायी कम्पनी संरक्षण निर्माण सेवा /शेभ इन्जिनियरिङ्ग कन्स्ट्रक्सन जेभीले अहिले निर्माणको कार्य अलपत्र अवस्थामा छाडिदिएको छ । प्लिन्थ लेभलको ढलान गर्न बिच्छ्याइएको रडहरुमा खिला लागिसकेको छ भने निर्माण सामग्री असरल्ल अवस्थामा छ । शहरी विकास तथा भवन कार्यालय मकवानपुरले निर्माण व्यवसायी कम्पनीसँग १८ महिनाको समय सिमा तोकेर कुल ५ करोड २६ लाख ८३ हजार रुपैयाँ लागतमा सभाहल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।