हटियामा पक्की सडक शिलान्यास
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर –१७ हटियामा १ करोड ७७ लाख रुपैयाँ लागतमा पक्की सडक निर्माणको काम सुरु गरिएको छ । कच्ची सडकका कारण समस्या झेल्दै आएका यहाँका स्थानीय पक्की सडक निर्माणको काम सुरु भएसँगै खुशी भएका छन् ।
उपमहानगरभित्र रहेका कच्ची सडकलाई पक्की निर्माण गर्ने अभियान अनुसार हटियामा पनि सडक पक्की निर्माण गर्न लागिएको उपमहानगरपालिकाले जनाएको छ । पक्की सडकको हेटौंडा–१७ का वडा अध्यक्ष भैरवबहादुर राइले शिलान्यास गरे । हटिया कठायतचोकदेखि बालवोध माध्यमिक विद्यालय हुँदै अङ्गारेश्वर महादेव मन्दिरतर्फ जाने बाटोमा ६ मिटर चौडाइ भएको र एक दशमलव ९ किलोमिटर सडक निर्माण गर्न लागिएको हो ।
शिलान्यास कार्यक्रममा बालवोध माविका अध्यक्ष कमलबहादुर बिष्ट, उपमहानगरपालिका मेयरका प्रमुख राजनैतिक सल्लाहकार नरहरी महत, उपमहानगरपालिका कार्यपालिकाका सदस्य शङ्करबहादुर राई, वडा सदस्य कृण्णमाया खुलाललगायत उपस्थित थिए ।
