रेडियो थाहाको सप्ताहव्यापी कार्यक्रम सुरु, पहिलो दिन साइकल र्याली

तु खबर संवाददाता
२०७८ फाल्गुन १, आईतवार १८:००

मकवानपुर । विन्दवासिनी मिडिया प्रालिद्वारा संचालित रेडियो थाहा सन्चार ९९ दशमलव ६ एफएम, हेटौंडाले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ । रेडियोले १४ औं वर्ष पुरा गरी १५ औं वर्षमा प्रवेश गरेको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको हो ।

रेडियोले सप्ताहव्यापी कार्यक्रमको आज (आइतबार) पहिलो दिन पर्यावरण प्रवद्र्वनको लागि साइकल र्यालीको आयोजना गरेको छ । हेटौंडा–४ अजरअमर रोडस्थित रेडियो परिसरबाट सुरु भएको साइकल र्याली मकवानपुरगढी–२ शिखरकटेरीमा पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रम रेडियोको प्रबन्धक अरुणराज सुमार्गीको सभाध्यक्षता तथा बागमती प्रदेशको वन तथा वातावरणमन्त्री विशाल खड्काको प्रमुख आतिथ्यतामा भएको हो ।

वन तथा वातावरण मन्त्रलायको सचिव यज्ञनाथ दाहालको विशेष आथिथ्यतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपावलिका –६ का वडाध्यक्ष अर्जुनप्रसाद चौलागाँई, मकवानपुरगढी गाउँपालिका–२ का वडाध्यक्ष बखानसिंह पाख्रिन, राईडर्स क्लबको अध्यक्ष विकास ताम्राकार, संस्थापक अध्यक्ष दिपेन्द्र चन्द ठकुरी, नेपाल पत्रकार महांसंघ बागमती प्रदेशको उपाध्यक्ष रुपेश दुलाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सप्ताह कार्यक्रमअन्तरगत भोलि दोस्रो दिन बृहत रक्तदान कार्यक्रम, तेस्रो दिन रुपचन्द्र विष्ट र अहिलेको राजनीतिक परिवेश विषयक अन्तरक्रिया कार्यक्रमको रेडियोले प्रत्यक्ष प्रशारण, चौथो दिन दुग्ध उत्पादन क्षेत्रको अवसर र चुनौती विषयक अन्तरक्रिया, पाँचौ दिन ‘सडक दुर्घटना न्युनिकरण नहुनुमा जिम्मेवारी कस्को’ भन्ने विषयमा मावि स्तरीय वक्तृत्वकला कार्यक्रम, छैठौं दिन कोरोना रोकथाम तथा नियन्त्रणमा सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया र सातौं अर्थात अन्तिम दिन थाहा सम्मान तथा वार्षिकोत्सव समापन समारोह एवम् साहित्य सम्मेलन हुने रेडियोको स्टेशन म्यानेर मणिराज गौत्तमले जानकारी दिए ।