संकटमा राप्रपा मकवानपुर, मत कांग्रेसमा गाभिँदै

तु खबर संवाददाता
२०७८ माघ २८, शुक्रबार १७:३०

मकवानपुर । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ । यससँगै मकवानपुरमा पनि चुनावी सरगर्मी सुरु भएको छ । जिल्लाका सबै स्थानीय तहको विभिन्न पदहरुमा राजनीतिक दलका नेताहरुले उम्मेदवारी दिन आकाँक्षा देखाउन थालिसकेका छन् । सबै दल आन्तरिक रुपमा तयारीमा जुटिसकेका छन् । नेताहरु टिकटको लागि लभिङ गरिरहेका छन् । माहौल चुनावमय बन्दै गएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा पराजय ब्यहोरेका उम्मेदवारहरु पनि यसपटक भने बाजी मार्ने प्रयन्त गरिरहेका छन् । निर्वाचित भएकाहरु पनि पुनः नेतृत्व हत्याउन दौडधुप गरिरहेका छन् ।

अन्य राजनीतिक दलले आन्तरिक रुपमा चुनावी गृहकार्य अघि बढाएको बेला राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा भने संकटमा छ । पूर्व केन्द्रीय अध्यक्ष (हाल राप्रपाबाट अलग बस्ने घोषणा गरेका) कमल थापाको गृृह जिल्ला पनि भएकाले मकवानपुरमा राप्रपाको राम्रो मत थियो । अघिल्लो स्थानीय निर्वाचनमा मकवानपुरका १० वटै स्थानीय तहको मेयर तथा उपमेयर पदमा राप्रपाका उम्मेदवारले सम्मानजनक मत पाएका थिए ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाकै जोडबलमा संगठित हुँदै गएको राप्रपा मकवानपुर अहिले संकटमा पुगेको छ । उनले नयाँ पार्टी गठनको गृहकार्य गरिरहेको अवस्थामा केही राप्रपामै ठूलो पद बार्गेनिङ गरिरहेका छन् भने केही थापाले गठन गर्ने पार्टीमा आफ्नो जिम्मेवारी कहाँ हुन्छ भनेर जोडघटाउ गरिरहेका छन् । राप्रपामै रहँदा वा थापाको पार्टीमा रहँदा पनि स्थानीय निर्वाचनमा जित हाँसिल गर्न सकिँदैन भन्ने लागेर केही अन्य पार्टीमा आफ्नो स्थान खोजिरहेका छन् ।
राप्रपा मकवानपुरका पूर्व अध्यक्ष मधु अधिकारी, हालका अध्यक्ष गुरुप्रसाद सापकोटा, सिताराम बर्तौला, खिलप्रसाद चौलागाईँलगायत नेताहरु राप्रपाकै पक्षमा देखिएका छन् । युवा नेता राजाराम बर्तौला, गणेश थापा, भृगु कार्कीलगायत थापाको पक्षमा खुलेरै लागेका छन् ।

२०७४ को निर्वाचनमा मेयर र उपमेयर पदमा राप्रपाको मत

२०७४ को निर्वाचनको परिणाम हेर्दा राप्रपाले मेयर र उपमेयर पदमा सम्मानजनक तथा निर्णायक मत ल्याएको देखिन्छ । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिकासहित केही पालिकामा कांग्रेस र माओवादी केन्द्रले दुवै पदका लागि चुनावी गठबन्धन गरेका थिए । राप्रपा र एमाले एक्लै– एक्लै चुनावमा होमिएका थिए ।

प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरमा एमालेको तर्फबाट मेयरको उम्मेदवार हरिबहादुर महतले २३ हजार १२४ मत प्राप्त गरी जित हाँसिल गरे । माओवादी केन्द्र समेतको गठबन्धनबाट उम्मेदवार बनेका आनन्दराम पराजुलीलाई ६१५ मतले हराउँदै महत मेयर निर्वाचित भएका थिए । पराजुलीले २२ हजार ५ सय ९ मत पाएका थिए । त्यस्तै राप्रपाको तर्फबाट उम्मेदवार बनेका मधुकर अधिकारीले ६ हजार ८५७ मत ल्याएका थिए ।

त्यस्तै एमालेबाटै उपमेयरको उम्मेदवार बनेकी मिनाकुमारी लामाले पनि गठबन्धनका उम्मेदवार बलराम बललाई पराजित गरिन् । लामाले २३ हजार ४ सय ३७ मत पाइन् भने बलले १७ हजार ११ मत पाएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेकी इन्दिरा न्यौपानेले ७ हजार ७०२ मत पाएकी थिइन् ।
थाहा नगरपालिकाका मेयर लवशेर विष्ट (माओवादी केन्द्र)ले ९०९१ मत पाएर निर्वाचित भएका थिए । राप्रपाका मेयरका उम्मेदवार हरेराम कार्कीले ९५२, उपमेयर पदमा राममाया लामाले ८९७ मत पाए । त्यस्तै बकैयामा राप्रपाबाट अध्यक्षको उम्मेदवार लक्ष्मी जिम्बाले १ हजार ६ सय ६३ मत पाइन् भने उपाध्यक्षमा धु्रवनारायण घिमिरेले १ हजार ६ सय ५६ मत ल्याए ।

बागमतीमा अध्यक्ष पदमा दिलबहादुर बलले १ हजार ३ सय ४२ र उपाध्यक्ष पदमा उमाकुमारी मोक्तानले १ हजार ३ सय ५१ मत पाइन् । त्यस्तै भीमफेदीमा अध्यक्षका उम्मेदवार शिवनारायण थापाले ९१७ मत पाए भने उपाध्यक्षको उम्मेदवार सानुमैया भुलुनले ८४३ मत पाइन् । मकवानपुरगढीमा अध्यक्षका उम्मेदवार खिलप्रसाद चौँलागाईले ९५० मत पाउँदा उपाध्यक्षको उम्मेदवार हिरादेवी हुँमागाईले ८९८ मत पाइन् ।

त्यसैगरी मनहरीमा अध्यक्ष पदमा गोविन्दप्रसाद रिजालले ८१५ मत पाउँदा उपाध्यक्षकी उम्मेदवार मायाकुमारी न्यौपानेले ६४९ मत ल्याइन् । इन्द्रसरोवरमा अध्यक्षमा देवकुमार लामाले ९४६ मत पाउँदा उपाध्यक्षमा निर्मला रुम्बाले १ हजार ८० मत ल्याएकी थिइन् । त्यस्तै कैलाशमा अध्यक्षका भीम लामाले ४३५ मत पाउँदा उपाध्यक्ष पदमा शान्ति थिङ्ले ४१९ मत पाइन् । त्यसबेलाको नतिजालाई विश्लेषण गर्ने हो भने, मकवानपुरमा राप्रपा निर्णायक देखिन्छ ।

राप्रपाको मत कांग्रेसमा  गाभिंदैे

निर्वाचन नजिकिंदै जाँदा राप्रपाका नेता तथा कार्यकर्ता धमाधम कांग्रेस प्रवेश गर्न सुरु गरेका छन् । दुवै दलको विचार केही हदसम्म मिल्दोजुल्दो भएकोले राप्रपाको आकर्षण कम्युनिष्ट पार्टीको तुलनामा कांग्रेसमा बढी देखिएको हो । केही दिन अघि मात्रै बकैया गाउँपालिकाको अध्यक्षको प्रत्यासीसमेत रहेकी नेतृ लक्ष्मी जिम्बासहित राप्रपा परित्याग गरी ६० जना कांग्रेसमा प्रवेश गरेका थिए ।

राष्ट्रिय प्रजातान्त्रिक महिला संघको केन्द्रीय सदस्यसमेत रहेकी जिम्बासहित नवप्रवेशीहरुहरुले पार्टी परित्यागको एउटै कारण कमल थापाको व्यक्तिगत स्वार्थ भएको प्रतिक्रिया दिएका थिए । सोही दिन राप्रपाका जिल्ला सदस्य अर्जुनप्रसाद तिमल्सिना, राप्रपा बकैयाका सचिव गोवर्धन गौतम, सह–सचिव सुदजराज ढकुरी, कोषाध्यक्ष बलराम लामिछाने, गाउँ समिति सदस्यहरु सुवास राई, सोमबहादुर राई, डक्बर बहादुर भोम्जन, रामप्रसाद दाहाल, लक्ष्मण राई, स्यामकुमार राई, कृष्णबहादुर शाहीलगायत महिला, युवा तथा अन्य भातृ संगठनका सदस्यहरु पनि कांग्रेस प्रवेश गरे ।

कांग्रेस प्रवेश गर्दै नेतृ जिम्बाले आफू जनताको सेवा गर्नका लागि राजनीतिमा लागेको र सोही अनुसारको जिम्मेवारी दिन आग्रह गरिन् । उनले कमल थापाबारे टिप्पणी गर्दै भनिन्, ‘उहाँ चुनावमा पराजित भएपछि अनावश्यक र गलत टिकाटिप्पणी गर्दै हिँडिरहनु भएको छ । कार्यकर्ताको मतको सम्मान गर्न सक्नु भएको छैन । त्यसकारण हामीले पार्टी छाडेका हौं ।’, उनले भनिन्, ‘आफ्नो स्वार्थ अनुसार कमल थापा अगाडि बढ्न खोजेको कारण अब नेपालमा राप्रपाको भविष्य छैन ।’