माधव नेपालले भने – एमसीसीलाई समर्थन गर्न सकिंदैन
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेकै अवस्थामा एमसीसीलाई समर्थन गर्न नसकिने बताएका छन् । गठबन्धनबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा एमसीसी पास गर्ने तयारीमा रहेको बेला नेपालले भने समर्थन गर्न नसकिने प्रतिक्रिया दिएका हुन् ।
वीरगञ्जमा समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमसीसीबारे जनतालाई स्पष्ट पार्नुपर्ने चुनौति रहेको बताए । ‘एमसीसीको बारेमा नेपाली जनता र राजनीतिक दल विभाजित छन् । त्यसैले एमसीसीमा क्लयरिफिकेसन चाहिन्छ, कतिपय कुरा मिलाउनुपर्ने छ । तर जनमत एमसीसीको विरुद्धमा छ । जनमतलाई पनि कसरी आश्वस्त बनाउन सकिन्छ । यो पनि एउटा ठूलो चुनौति छ,’ उनले भने ।
