मकवानपुरका थप ८ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ८३ पुग्यो
मकवानपुर । मकवानपुरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या घट्दो छ । जिल्लामा बुधबार ८ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, पछिल्लो २४ घण्टामा ४६ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
सो अवधिमा २२ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा ५ जनामा र २४ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ७ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना रहेका छन् । यस्तै, जिल्लामा सोही अवधिमा ५जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा अहिले ८३ जना कोरोना संक्रमणका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये होम आइसोलेसनमा ७८ जना र संस्थागत आइसोलेसनमा ५ जना उपचाररत छन् ।
