हेटौंडाको बुद्धचोकमा कोभिड विरुद्धको खोप लगाइँदै

तु खबर संवाददाता
२०७८ माघ २६, बुधबार १३:२४

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाको बुद्ध चोकमा आजबाट कोरोना विरुद्धको खोप अभियान संचालन गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति, हेटौंडा उपमहानगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त पहलमा बुधबारबाट विशेष खोप सप्ताह सुरु गरिएको हो ।

हेटौंडाको बुद्धचोकमै कोरोना विरुद्धको खोप नलगाएकाहरुलाई लक्षित गरेर खोप सप्ताह सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । चैतसम्म सबै नागरिकलाई खोप लगाउने राज्यले लिएको नीति अनुसार खोप अभियानलाई थप प्रभावकारी बनाइएको उनले बताए । सार्वजनिक स्थलमै खोप केन्द्र राखेर अभियान चलाएपछि जनतालाई खोप लगाउन सहज हुने उनले बताए ।

यस अभियानमा पुरानो नारायणी यातायात कम्पनी प्रालि, ग्रामिण जागरण तथा विकास संगठन नेपाल र एसोसिएसन अफ प्राइभेट हेल्थ नेपाल मकवानपुरले सहयोग गरिरहेका छन् । बुद्धचोकमा विशेष गरी ग्रामिण भेग र हालसम्म खोप अभियानमा पहुँच नपुगेकाहरुले लाइन लागेर खोप लगाइरहेका छन् ।