दुर्घटनामा मकवानपुरका मोक्तान घाइते
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ रजैयामा गएराति सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । गएराति २१ः४५ बजेको समयमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०२०३१ प ५९०० नम्वरको मोटरसाइकललाई युपी ५२ बीबी ९९१० नम्वरको भारतीय कारले ठक्कर दिँदा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइते हुनेमा जिल्लाको कैलाश गाउँपालिका वडा नम्वर ८ सतपुर बस्ने अन्दाजी ३२ वर्षीय शुरेन्द्र मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । उनका अनुसार, दुर्घटनामा परेर घाइते भएका मोक्तानलाई उपचारको लागि हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा लगिएको थियो । उक्त अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि गएराति नै चितवनको भरतपुर लगिएको छ । प्रहरीले ठक्कर दिने कारको चालकलाई नियन्त्रणमा लिई उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
